कांग्रेस पदाधिकारी बैठक : रुपन्देही-३ उपनिर्वाचनबारे छलफल, मन्त्री फेरबदलको छलफल भएन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी,पूर्वपदाधिकारी बैठकमा रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनबारे छलफल भएको छ। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी कार्त्तिक १७ गते हुन लागेको उपनिर्वाचन र त्यहाँको पार्टीको अवस्थाबारे छलफल भएको बताए।

सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान कांग्रेसका मन्त्री, पदाधिकारी, पूर्वपदाधिकारी र सातै प्रदेशका नेतासहितको बैठक बोलाएका थिए। छलफलमा विभिन्न नेताहरूले रुपन्देही-३ को अहिलेको वस्तुगत स्थितिबारे ब्रिफिङ गरेको केसीले जानकारी दिए। ‘पार्टीभित्र उपनिर्वाचनमा सम्पूर्ण रुपले एकताका साथ जाने कुरा भएको छ,’ उनले भने।

यसका साथै मन्त्री फेरबदलबारे बैठकमा कुनै छलफल नभएको उनले बताए। रुपन्देही-३ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे यकिन नभएको उनको भनाइ छ।

बैठकमा रुपन्देही-३ मा बालकृष्ण खाणको सम्भावनाबारे पनि कुनै छलफल नभएको उनले जानकारी दिए। २०७९ निर्वाचनमा रुपन्देही-३ मा खाण राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक बोहरासँग पराजित भएका थिए। बोहराको निधन भएपछि उक्त स्थानमा कार्त्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो।

२०७९ को चुनावमा कांग्रेसबाट उम्मेदबार बनेका खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको र उनीविरुद्धको मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ।

यस्तै कांग्रेस बैठकले उपनिर्वाचनमा मधेशवादी दल एक भएर आए चुनौती हुनसक्ने निष्कर्षसमेत निकालेको छ। ‘रुपन्देहीमा गएको निर्वाचनमा विभिन्न गठबन्धन थिए। यो गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत हेर्न हो भने कांग्रेस पहिलो पार्टी हो। २० हजार मत प्राप्त गरेको थियो। दोस्रो भएको एमालेले १६ हजार मत ल्याएको थियो। तेस्रो पार्टी रास्वपाले १४ हजार मत ल्याएको थियो। त्यसपछि मधेशवादी दल थिए। अहिलेको पोजिसन के छ भन्न गाह्रो छ,’ पत्रकारसँगको प्रतिक्रियामा प्रमुख सचेतक श्याम घिमिरेले भने।

उनले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवार पनि धेरै हुनसक्ने आकलन गरिएको पनि बताए। उनले सत्तामा सँगै भए पनि एमाले र कांग्रेस नै मिलेर जानेबारे अहिलेसम्म कुनै छलफल नभएको प्रस्ट पारे।

त्यस्तै बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, भूमिसम्बन्धी विधेयकका साथै निजामति विधेयकका सन्दर्भमा समेत छलफल भएको थियो । संवैधानिक परिषद् सम्बन्धी विधेयकका सन्दर्भमा विस्तृत रुपमा छुट्टै छलफल गर्ने उनले बताए ।

निजामती विधेयकमा रहेको कुलिङ अफ पिरियडमा एमाले सांसदहरुले राखेको संशोधन सांसदले स्वतन्त्रता प्रयोग गरेको रुपमा रहेको एमालेले जानकारी गराएको घिमिरेले उल्लेख गरे।

बैठकमा केहि नेताहरुले कुलिङ पिरियडको प्रावधान हटाउन एमाले सांसदहरुले राखेको संशोधन प्रस्ताव आपत्ति जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *