भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

काठमाडाैं। भिजिट भिसा प्रकरणको छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए। उनीहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन्।

रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा तोसिमा कार्कीलाई बोल्न समय दिएका थिए। सांसद कार्कीले वर्तमान सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजेको आरोप लगाइन्।

सुशासनको बाचा गर्ने सरकारले जनताका पक्षमा लड्नेहरुलाई कारागार पठाउने र भ्रष्टाचारमा मुछिएकाहरुलाई स्यावासी दिने काम गरेको उनले बताइन्।

उनले भिजिट भिसा प्रकरणमा छानविन गर्नुपर्ने व्यक्ति कै संयोजकत्वमा बनेको समिति मान्य नहुने भन्दै आन्दोलन निरन्तर रहेको बताइन्। सांसद कार्कीले आफुहरुले निरन्तर विरोध गर्दा पनि संसद चलाइएकोप्रति आपत्ति जनाइन्।

त्यस्तै राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमामा संसदीय छानविन समिति गठन नभएसम्म राप्रपाको आन्दोलन जारी रहने बताए।

उनले गंगालाल अस्पतालमा १५ बर्षमूनीका बालबालिकालाई निशुल्क उपचार गर्ने व्यवस्थाबापत सरकारले दिनुपर्ने रकम नदिएकाले सेवा सञ्चालनमा समस्या आएको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए।

विरोधकाबीच सभामुख घिमिरेले सदनको कारवाही बढाएपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *