काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य सकिएको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार बन्दाखेरी गरिएका वाचाहरु केही पनि पूरा नभएको बताएकी हुन् ।
वर्तमान सरकारले संविधान संशोधनको वाचा गरेको भए पनि उपलब्धि भने मान्छे र सरकारी जग्गा बेचबिखन भइरहेको उनले बताईन् । उनले वर्तमान सरकारले भ्रष्टाचारमा मुछिएकाहरुलाई स्यावासीको धाप दिइरहेको दाबी गरिन् ।
‘एक वर्ष पूरा भयो यो सरकार बनेको, तर वाचाहरु केही पनि पूरा भएका छैनन् । त्यसैले यो सरकारको औचित्य समाप्त भइसकेको छ । वाचा संविधान संशोधनको अनि उपलब्धि मान्छे र सरकारी जग्गा बेचविखनको । वाचा सुशासनको अनि परिणाम जनताको लागि लड्नेहरुलाई जुरिसियल ओभर रिच र कारागार । अनि भ्रष्टाचारमा मुछिएकाहरुलाई स्यावासीको धापा । ठूला दलका यस्तै गतिविधिको कारणले नै यो व्यवस्थामाथि प्रश्न उठिराखेको छ,’– उनले भनिन् ।
भिजिट भिसा प्रकरणलाई लिएर आफूहरु दुई महिनादेखि आन्दोलित हुँदा पनि सुनुवाइ नभएको उनले बताईन् । जसमाथि छानविन गर्नुपर्ने हो उनीहरुकै संयोजकत्वमा समिति बनेको उनले बताईन् । साथै, उनले दुई प्रतिपक्षी दलले निरन्तर विरोध गर्दा पनि निर्वाध रुपमा सदन चलाएकोमा आपत्ति जनाईन् । नेतृ कार्कीले ‘यो सदन जनताको हो कि सरकारको कठपुतली हो ?’ भन्दै प्रश्नसमेत गरिन् ।
‘दुई प्रतिपक्षी दलले निरन्तर रुपमा विरोध गरे पनि निर्वाध रुपमा यो संसद् किन चलिरहेको छ । यो संसद् कसको हो ? जनताको आवाज हो कि सरकारको कठपुतली हो ? इतिहासले यो सदनलाई सरकारको कठपुतली भनेर, सुशासनलाई निमिट्यान्न पार्न खोज्यो भनेर नलेखोस्,’– उनले भनिन् ।
