झापामा ६२ जनाले त्यागे नेपाली नागरिकता

झापा । झापामा पछिल्लो एक वर्षको अवधिमा ६२ जनाले नेपाली नागरिकता परित्याग गरी गैरआवासीय नागरिकता लिएका जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिए ।

उनका अनुसार सोही अवधिमा कार्यालयले वंशजका आधारमा २२ हजार ४० र वैवाहिक अङ्गीकृत छ सय ७५ वटा नागरिकता वितरण गरेको छ । साथै कार्यालयबाट २२ हजार चार सय ५५ जनाले नागरिकताको प्रतिलिपि लिएका उनले बताए ।

गत आवमा २२ हजार ४३२ वटा राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ । सात सय ८९ वटा नाबालक परिचयपत्र प्रदान गरिएको जनाउँदै सूचना अधिकारी प्रसाईंले सोही अवधिमा पारिवारिक पेन्सन, शपथपत्र र हलपहलसम्बन्धी सिफारिस दुई सय ६२ वटा, संस्था दर्ता ७८ र राष्ट्रिय परिचयपत्रका लागि एक लाख सात हजार ७२ जनाको लागि विवरण सङ्कलन भएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंका अनुसार हालसम्म तीन लाख ५५ हजार पाँच वटा राष्ट्रिय परिचयनपत्र वितरण भएको छ । कार्यालयले विपद् पीडित १९ जना (पाँच जना मृतकसहित) लाई रु एक करोड १९ लाख ९० हजार राहत वितरण गरेको छ भने एक सय नौ वटा हतियार नवीकरण गरेको छ ।

अभद्र व्यवहारसम्बन्धी २७, सवारी ज्यान क्षतिपूर्तिसम्बन्धी १८ र गलत अफवाहसम्बन्धी एउटा मुद्दा फछ्र्यौट गरेको कार्यालयले जनाएको छ । सोही अवधिमा रु ११ करोड २१ लाख २८ हजार २२६ राजस्व सङ्कलन भएको सूचना अधिकारी प्रसाईंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *