शेखरको आरोप : एमालेले कांग्रेसको ‘कोर भ्याल्यु’मा आक्रमण गर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसको ‘कोर भ्याल्यु’मा एमालेले आक्रमण गरिरहेको आरोप लगाएका छन् ।

बीपी स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउने कुरा राम्रो भए पनि आफ्नो महत्त्व कांग्रेसले बिर्सिन नहुने बताएका हुन् । 

अहिले कांग्रेसको महत्वमाथि कम्युनिस्टहरूले आक्रमण गरिरहेको उनको भनाई थियो । कुलिङ अफ पिरियडमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलिङ पिरियड हटाउने र ढिलो गर्ने कुरा स्वीकार्य हुन नसक्ने बताउन सक्नुपर्ने उल्लेख गरे । 

सांसद कोइरालाले भने, ‘हामी सरकारमा छौँ, ठिक छ, उपाय छैन । तर जसरी हाम्रो बेसिक कोर भ्याल्युजमा कम्युनिस्टहरूले, एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ । दुःख त्यहाँ लागिरहेको छ । हामीले बोल्यौँ कुलिङ अफ पिरियडमा ? अहिले हामीले भन्न सक्नुपर्छ । सभापतिजीले प्रधानमन्त्रीलाई भन्न सक्नुपर्छ यो स्वीकार्य हुँदै फटाफट गर्नुस् भनेर । गल्ती भएको छ, हामीबाट पनि भएको छ । नेपाली कांग्रेसका सांसदहरूको गल्ती छैन भनेर म भन्दिनँ, मेरो पनि गल्ती छ, किन हेरेनौँ त्यो ।’

उनले थपे, ‘राज्य व्यवस्था समितिका साथीहरूको गल्ती छ । उनीहरूले किन हेरेर पठाएनन् । सभापतिको गल्ती छ, राज्य व्यवस्था समितिको सभापतिले किन हेरेर पठाएनन् उनको गल्ती छ । हस्ताक्षर गर्ने अनि नहेर्ने ? अनि गल्ती भयो भन्ने । हाम्रो पनि गल्ती छ । तर सच्याउने नाममा राष्ट्रिय सभाले उल्टै एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको नेपाली कांग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो की होइन ? यो कुरा हामीले बुझ्न जरुरी छ । जसरी सभापतिजीले टेक एण्ड पे र टेक अर पेमा अडान लिनुभएको थियो, त्यो अडान अहिले चाहिएको छ हामीलाई ।’

सांसद कोइरालाले भूमि सम्बन्धी विधेयक पारित गर्न किन हतार भएको ? भन्दै प्रश्न गरे । भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरू डराइरहेको उनको आरोप छ । 

सांसद कोइरालाले भने, ‘भूमि सम्बन्धी विधेयक, के हतार छ ? किन आजको भोलि नै पास गर्नुपर्‍यो । के कारण पर्‍यो । किन समितिमा छलफल गर्न डराइरहनुभएको छ, एमालेका मित्रहरू, सांसदहरू ? त्यसको जवाफ नेपाली कांग्रेसका साथीहरूलाई चाहिन्छ । मन्त्रीजीहरू यहीँ हुनुहुन्छ, उहाँहरूले पनि भन्नुपर्‍यो । क्याबिनेटमा बोल्नुपर्‍यो । कहीँ न कहीँ त फरक छ भन्ने देखाउनुपर्छ । सबैभन्दा गम्भीर विषय संवैधानिक परिषद्मा जसरी राष्ट्रिय सभाले पास गरेको छ, त्यो अगर राष्ट्रपतिजीले छाप लगाइदिनुभयो भने संविधानको स्पिरिट मर्छ । प्रधानमन्त्री र एकजना सदस्य बसेर जे पनि गर्न सक्ने भए । जोसुकै प्रधानमन्त्री हुन् । अहिले एमालेको प्रधानमन्त्री हुनुहुन्छ, तर भोलि हाम्रै प्रधानमन्त्री भए पनि यो कुरा गलत हुन्छ भन्ने कुरा हामीले भन्न सक्नुपर्छ । संविधानको स्पिरिट के हो भने संवैधानिक परिषद्मा जो व्यक्तिहरू हुनुहुन्छ, तिनीहरूले बेइमानी गर्दैनन्, छलफल गर्दछन्, मिलाउँछन्, कुरा गर्छन् अनि सबै सिनियर मान्छेहरूलाई ल्याउँछन् भनियो । के भयो बताउँ, प्रतिनिधि सभाले पास गर्‍यो,अप्पर हाउसले त्यसलाई परिमार्जन गरेर पठायो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *