काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको दुई वर्षको ‘कुलिङ पिरियड’ को प्रावधानबाट आफ्नो पार्टी तलमाथि नहुने बताएका छन् ।
उनले यसबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा काँग्रेसले कम्परमाइज गर्न नसक्ने स्पष्ट पारेका हुन् । आज (मंगलबार) काठमाडौंमा आयोजित बीपी स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेसको दृष्टिकोणप्रति प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक हुनुपर्ने बताए । उनले भने,‘हामीले राखेको जायज दृष्टिकोण प्रधानमन्त्रीले स्वीकार्नुपर्छ । नचाहिने माग कांग्रेसले राख्दै राख्दैन। यसै पनि उदार पार्टी हो, प्रधानमन्त्रीले कांग्रेसको माग सम्बोधन गर्नुपर्छ। कुलिङ पिरियड सर्वसम्मत रूपमा समितिबाट अगाडि बढेको हो। त्यसमा कांग्रेसले कम्प्रमाइज गर्न सक्दैन। लागू हुनपर्छ। अरू भूमि विधेयकमा पनि समग्र छलफलपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ। एकलौटी लाद्ने कुरा स्वीकार्य हुन सक्दैन।’
