काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको चौथो महाधिवेशन आगामी मङ्सिर २९, पुस १ र २ गते गर्ने तयारी थालिएको छ ।
निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न कार्यतालिका समेत तय गरिएको सङ्घका अध्यक्ष उषा राउतले राससलाई जानकारी दिइन् । त्यसका लागि आगामी भदौभित्र क्रियाशील सदस्यता नयाँ र नवीकरणका लागि फाराम भरेर केन्द्रमा पठाइसक्नुपर्ने, कात्तिक २१ गतेसम्म वडा÷पालिका अधिवेशन गर्नुपर्ने, मङ्सिर ७ गतेसम्म प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन गरिसक्नुपर्ने तथा मङ्सिर २१ गतेभित्र प्रदेश अधिवेशन गर्नुपर्ने तालिका छ ।
सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत नेतृत्वको निर्देशन समितिले सङ्घसँग समन्वय गरी तालिका सार्वजनिक गरेको हो । कांग्रेसले गत असार २३ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समयमै महाधिवेशन गर्न नसकेका तदर्थ समिति गठन गरिएका भ्रातृ सङ्घका हकमा महाधिवेशन सम्पन्न गर्न निर्देशक समितिलाई सम्पूर्ण जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।
विक्रम संवत् २०७९ भदौ २७ गते सङ्घको अध्यक्षमा मनोनीत भएका अध्यक्ष राउतले यसअघि आफूले चाहेर पनि विविध बाधा–व्यवधानका कारण निर्धारित समयमै महाविधेशन गर्न नसकेको बताइन् । उनले भनिन्, “अध्यक्ष नियुक्त भएको नौ महिनापछि २०८० सालको जेठ २० गते मात्रै पार्टीले सङ्घमा ५२ जना सदस्य मनोनीत गरेको थियो । त्यसपछि असार २१ गते पहिलो बैठक बसेको थियो ।”
पार्टीले समयमा विधान उपलब्ध नगराएको, केही सदस्यहरू सङ्घको नेतृत्वभन्दा पार्टीका नेतासँग नजिक भई बैठकमा नआउने र बाहिर विरोध गरेर हिँड्ने प्रवृत्तिका कारण निर्धारित समयमा महाधिवेशन गर्न र अपेक्षाकृत काम गर्न नसकेको उनले गुनासो गरिन् ।
“यद्यपि निर्धारित समयमै महाधिवेशन गर्नका लागि हामीले क्रियाशील सदस्यता वितरणदेखि विधान प्रकाशन गरी जिल्लामा पठाउने, मुलुकभर प्रशिक्षण तथा जिल्ला अधिवेशनका लागि आवश्यक काम गरेका थियौँ”, अध्यक्ष राउतले भनिन् । उनले अब नयाँ कार्यतालिकामा महाधिवेशन सम्पन्न गर्न सबै सदस्यलाई कटिबद्ध भएर लाग्न आग्रह गरिन् ।
विसं २०७३ असोज काठमाडौँमा भएको सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी अध्यक्षमा निर्वाचित भएको थियो । तत्कालीन अध्यक्ष रेग्मी सङ्घीय मन्त्री भएपछि रिक्त भएको सङ्घको नेतृत्वमा राउत मनोनीत भएको हो ।
राणाविरोधी आन्दोलनका लागि कांग्रेसको स्थापनासँगै २००४ साउन २४ गते मङ्गलादेवी सिंहसहितका महिला अगुवाहरूले सङ्घको स्थापना गरेको थियो । त्यसकै माध्यमबाट महिलालाई राणाविरोधी आन्दोलनमा समाहित गर्दै मुलुकमा प्रजातन्त्र स्थापनामा सक्रिय भएको सङ्घको २०५८ सालमा विराटनगरमा पहिलो र २०६४ सालमा काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो ।
