काठमाडौं। रक्षामन्त्री मानवीर राईले समकालीन राजनीति र साहित्यको भूमिकाबारे धारणा सार्वजनिक गरेका छन्।
शनिबार राजधानीमा आयोजित कवि उमेश अकिञ्चनद्वारा लिखित कविता संग्रह ‘सायद किनाराहरु’को लोकार्पण गर्दै मन्त्री राईले अहिलेको समयमा राजनीतिज्ञ र कर्मचारीहरूमाथि आलोचना र गालीको संस्कृति हावी भइरहेको बताएका हुन्।
उनले भने, ‘आज देशमा राजनीतिकर्मीहरुलाई, कर्मचारीलाई गाली गर्ने गरिन्छ। कति मान्छे गाली गर्न लायक छन् राजनीतिमा। राजनीति त स्वभाविक रुपमा प्रतिस्पर्धा गर्ने भएकाले एकले अर्कालाई कुनै कमजोरी भेट्यो भने त सबैभन्दा राम्रो तर कमजोरी नभेट्दा पनि तल झार्ने काम गर्ने गरिन्छ।’
उनले राजनीति प्रतिस्पर्धात्मक प्रक्रिया भएकाले आलोचना स्वाभाविक भएपनि निराधार आरोपले नकारात्मक असर पार्ने बताए।
साहित्य र कविताको महत्वबारे बोल्दै राईले परिवर्तनका हरेक चरणमा कवि, साहित्यकार र लेखकहरूको गहिरो योगदान रहेको उल्लेख गरे। उनले राणाकालको अन्त्यदेखि लिएर वर्तमान परिवर्तित राजनीतिक अवस्थासम्म आइपुग्दा साहित्यिक हस्तीहरूको भूमिका उल्लेखनीय रहेको बताए।
उनले भने, ‘कविले एउटा कविता मात्रै प्रस्तुत गर्दैन। समाजमा आफ्ना कविताहरु मार्फत समाजलाई चेतना जोगाउने, सचेत गराउने काम गर्छ। हिजो राणाकाललाई राणा शासन अन्त्य गर्नेदेखि लिएर आजसम्मको परिवर्तनमा कविहरुको, साहित्यकारहरुको, लेखकहरुको भूमिका महत्वपूर्ण छ।’
