काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ।
सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले डिजिटल प्लेटफर्म सुरु गरिएको हो।
यस पोर्टलमार्फत देश–विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ तथा नीति निर्माताहरूले बजेट निर्माण, विकासका प्राथमिकता र सरकारका आगामी कार्यक्रमबारे आफ्ना राय–सुझाव सिधै सरकारसमक्ष पेश गर्न सक्नेछन्।
सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम नागरिकको भावना, अनुभव र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको योजनाअनुसार यो पहल अघि बढाइएको जनाइएको छ।
दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी घटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने विश्वास व्यक्त गर्नुभएको छ। प्राप्त सुझावहरूलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमा कार्यान्वयनमा लैजाने उहाँको भनाइ छ।
पोर्टलमा नागरिकले दिएका सुझावको पछिल्लो अवस्था र सरकारले चालेका कदमबारे जानकारी लिन सकिने गरी ‘सुझाव ट्र्याक’ गर्ने सुविधा समेत समावेश गरिएको छ।
सरकारले यस डिजिटल पहलमा सक्रिय सहभागिता जनाई ‘समृद्ध नेपाल’ निर्माणको अभियानमा रचनात्मक योगदान पुर्याउन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेको छ।
