अबदेखि पाल्पाबाटै चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र जारी हुने

पाल्पा । अबदेखि पाल्पाबाटै हलुका सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ।

मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र जारी गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले पहिलोपटक हलुका सवारी चारपाङ्ग्रे साधनको सवारी चालक अनुमतिपत्र वितरण सेवा दिन थालेको हो। सो सेवा प्रवाह हुन थालेपछि उक्त कार्यका लागि बुटवल, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ।

सेवा थप भएसँगै हलुका सवारीसाधन चारपाङ्ग्रे (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, (ई–रिक्सा) र (ट्र्याक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख टीकाराम न्यौपानेले जानकारी दिए। ‘लाइसेन्सका लागि मङ्गलबारदेखि अनलाइन आवेदन फाराम खुला गरेका छौँ, छिट्टै लिखित परीक्षा लिइ ट्रायल (परीक्षण) लिन सुरु गर्नेछौँ’, उनले भने।

विसं २०७५ मा स्थापना भएको कार्यालयले ब्लुबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरण सेवा दिँदै आएको छ। यातायात कार्यालयबाट छिटो लाइसेन्स प्राप्त हुन थालेपछि ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्यामा कमी आउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र खड्काले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *