सर्लाहीमा निर्माणाधीन घरको छतबाट खसेर दुई मजदुरको मृत्यु

मलंगवा। सर्लाहीको मलंगवा नगरपालिका–१० मा एक घरको छत प्लास्टर गर्ने क्रममा दुर्घटना हुँदा दुई जना मजदुरको ज्यान गएको छ।

बुधबार साँझ स्थानीय रञ्जित यादवको चारतले पक्की घरको छतमा काम गरिरहेका बेला अचानक छतको भाग भत्किँदा उनीहरू भुइँमा पछारिएका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा मलंगवा नगरपालिका-२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका-२ का ४० वर्षीय राज किशोर यादव रहेका छन्। साँझ करिब ४:४५ बजे छतको पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गरिरहेका बेला संरचना भत्किएपछि उनीहरू गम्भीर घाइते भएका थिए।

दुर्घटनालगत्तै दुवै मजदुरलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए। मृतकहरूको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा प्रहरीले थप प्राविधिक अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *