वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–११ बस्ने पाल्पा घर भएका ३० वर्षीय मिलन तिमल्सिना, काभ्रे बनेपा बस्ने काभ्रे रोशी गाउँपालिका–११ घर भएकी २४ वर्षीया सिर्जना श्रेष्ठ, काठमाडौँ महानगरपालिका–१६ बस्ने नवलपरासी पूर्व घर भएका २६ वर्षीय अकिन बस्ताकोटी, गोरखा घर भएकी २२ वर्षीया निशा विक, काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने लमजुङ घर भएका ३८ वर्षीय राजेन्द्र अधिकारी र काठमाडौँ गोकर्णेश्‍वर नगरपालिका–८ बस्ने ३४ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।

पक्राउमध्ये मिलनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ, सिर्जनाले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ, अकिनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७५ हजार रुपैयाँ, निशाले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रुपैयाँ, राजेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रुपैयाँ र सागरले सिङ्गापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिलन र सिर्जनालाई काठमाडौँ महानगरपालिका–१२ बाट, अकिनलाई काठमाडौँ महानगरपालिका–१६ बाट, निशालाई काठमाडौँ महानगरपालिका–२ बाट, राजेन्द्रलाई काठमाडौँ नागार्जुन नगरपालिका–१ बाट र सागरलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *