७२ लाखमा बनाइएको लिफ्ट सिँचाइ आयोजना एक दशकदेखि अलपत्र

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१२ आमघाटस्थित लिफ्ट सिँचाइ आयोजना एक दशकदेखि अलपत्र परेको छ । किसानलाई वनहरा नदीबाट पानी लिफ्ट गरी सिँचाइ गर्नका लागि रु ७२ लाख बढीको लागतमा निर्माण गरिएको उक्त आयोजना सञ्चालनमा नआउँदै अलपत्र परेको हो ।

सङ्घीय सरकार र एसियाली विकास बैंक(एडिबी)को संयुक्त लगानीमा सामुदायिक सिँचाइ आयोजना(सिआइपी) कार्यक्रमअन्तर्गत विसं २०७२ मा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको थियो ।

किसानलाई ६४ हेक्टर क्षेत्रफल जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गरिएको आमघाट लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष भीमसेन रानाले बताए ।

निर्माण व्यवसायीले एक पटक पानी पाइप लाइनमार्फत पुर्‍याएको जनाउँदै उनले पछि बाढीका कारण आयोजना सञ्चालन हुन नसकेको उल्लेख गरे । पटकपटक प्रदेश र नगरपालिका कार्यालयमा आयोजना सञ्चालनका लागि बजेटको माग गर्दै पुगेपनि सुनवाइ हुन नसकेको अध्यक्ष रानाको भनाइ छ ।

योजना सञ्चालनमा ल्याउनका लागि वैकल्पिक उपायका रूपमा डिप बोरिङ गरे मात्रै सम्भव हुने उनले बताए । नदी फर्काएर अहिले ल्याए पनि अर्को बर्खातको बाढीमा पुरानै धारमा बग्ने भएकाले आयोजनालाई ‘रिभर वेस’मा आधारित भएर चलाउन सम्भव नहुने अध्यक्ष रानाले बताए ।

उनका अनुसार आयोजनाअन्तर्गत पाँच केभिएको ट्रान्सफर्मर राख्ने, विद्युत्को थ्रिफेस लाइन राख्ने, विद्युतीय मोटर जडानलगायत यन्त्र राख्ने घर निर्माण गरिएको छ ।

सिँचाइका लागि किसानका खेतमा पाइप लाइन बिछ्याउने कार्य गरिएको शुक्लाफाँटा-१२ का वडाध्यक्ष नवलसिंह रानाले बताउँदै वडाको बजेटले आयोजनालाई सञ्चालन गर्न सकिने धारणा राखे ।

सिँचाइ आयोजना अलपत्र परेपछि पानी तान्न राखिएका विद्युतीय मोटरलगायत सामग्री चोरी हुन थालेका छन् । गएको महिना मात्रै चोरले विद्युतीय मोटर चोरी गरेर लैजादै गरेको अवस्थामा स्थानीयले बरामद गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *