३४१ मेगावाटको बूढीगण्डकी आयोजनाका लागि लगानी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साहस उर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको यस आयोजनाका लागि १० वटा बैंकले लगानी गर्ने असहमति पत्रमा हस्ताक्षर भएको हो ।

अनुमानित ७० अर्बको परियोजना लागतमध्ये  १० अग्रणी वाणिज्य बैंकको समुहले ५२ अर्ब ५० करोड अर्थात ७५ प्रतिशत लगानी गर्ने भएका छन् ।

सम्झौतापत्रमा टाइम्स इनर्जीका सुशील थापा र बैंकहरुको नेतृत्व गरेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन् । यस परियोजनामा एनआईएमबीले १० अर्ब, नबिल बैंकले आठ अर्ब, लक्ष्मी सनराइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको जानकारी दिइएको छ ।

साथै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले चार अर्ब, माछापुच्छ्रे बैंकले चार अर्ब, सिटिजन्स बैंकले तीन अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब, प्रभु बैंकले तीन अर्ब र कृषि विकास बैंकले दुई अर्ब ५० करोड ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) पनि भइसकेको छ । वर्षायामका लागि ४.८० रुपैयाँ, सामान्य सुक्खायामका लागि ८.४० रुपैयाँ र मुख्य सुक्खायामका लागि १०.५५ रुपैयाँ प्रतियुनिटमा खरिद बिक्री गर्नेगरी सम्झौता गरिएको हो।

यस परियोजनामा बाँकी रहेको २५ प्रतिशत लगानी अर्थात १७ अर्ब ५० करोड  भने प्रवर्द्धन कम्पनीले इक्विटी लगानी मार्फत कभर गरिने जानकारी दिइएको छ । लगानी सम्झौता समारोहमा प्रवर्द्धन कम्पनी टाइम्स इनर्जीले भदौबाट बाँध तथा पावरहाउसको जग्गा तयार गर्ने काम सुरु हुने र चैत महिनाबाट निर्माण कार्य सुरु गर्ने जानकारी दिएको छ । आयोजना सम्पन्न भएपछि २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन सुरु हुने लक्ष्य रहेको जानकारी दिइएको छ ।  गोरखा जिल्लाको चुमनुब्री ३ सल्लेरीमा बाँध बाँधी ६.९ किलोमिटर सुरुङमार्फत पानी झारेर धार्चे गाउँपालिका-३ तातोपानीमा पावरहाउस निर्माण गर्ने कम्पनीले जनाएको छ ।

यो नेपालको ऊर्जा इतिहासको सबैभन्दा ठूलो वित्तीय समापन मध्ये एक भएको छ भने आयोजना निजी क्षेत्रबाट सञ्चालित अहिलेसम्मको ठूलो आयोजना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *