काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको पछिल्लो दश महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । मंगलबार बैंकले पछिल्लो दश महिनामो आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।
बैंककाअनुसार कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले बढेर गत वैशाखमा २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । २०८१ असारमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो । त्यस्तै, अमेरिकी डलर सञ्चिति २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड डलर थियो । त्यस्तै वैशाख महिनामा एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको वैशाखको तुलनामा यसपालि ४९ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चैत मसान्तसम्म नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । बैशाख मसान्तसम्म आइपुग्दा यो रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो ।
यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १६.९ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ । वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका निम्ति संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख पाँच हजार ६१० छ । र, पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार ३१४ छ ।