२०८३ को पञ्चांग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चांग २०८२ साल अनुरूप नै प्रकाशन हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

विविध कारणबाट पञ्चांग रुजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकी ग्रहगणितबाट पञ्चांग खण्ड तयार गर्न केही समय लाग्ने एवं थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चांग प्रकाशन गर्न ढिलाइ भइसकेको पञ्चांग निर्णायक विकास समितिले बताएको छ । सेवाग्राहीलाई समस्या पर्ने देखिएकाले २०८२ साल अनुरुप नै ०८३ को पञ्चांग प्रकाशन गर्न लागिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

विसं ०८३ को पञ्चांग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेस गर्नु भनी सूचना जारी गरिएको थियो । समितिको निर्णयअनुसार  प्रकाशित हुने पञ्चांगका सन्दर्भमा गत वर्ष नै पञ्चांग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही गर्ने निर्णय भएको थियो । अन्य ग्रहहरू ज्योतिर्गणितम् तथा केतकी ग्रहगणितम्का आधारमा गणना गरी पञ्चांग प्रकाशित भएको थियो ।

सौरोक्त पद्धतिबाटै समयसापेक्ष आकाशको ग्रहस्थितिसँगै मिल्ने गणना सुधार गर्न सिद्धान्त ज्योतिषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ज्योतिषी विद्वान आमन्त्रण गरी तत्काल छलफल अघि बढाउने निर्णय समेत गरिएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *