हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ

हेटौंडा। मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूपदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रतिबन्धित लागूपदार्थ ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार विहीबार बिहान करिब १० बजे सानोपोखरामा लागूपदार्थको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा उक्त स्थानमा बसिरहेका पाँच जनालाई फेला पारिएको र उनीहरूको साथबाट ठूलो परिमाणमा ट्रामाडोल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए।

पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङतान, हेटौंडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौंडा–४ का २० वर्षीय निशान कोईराला, हेटौंडा–२ का ३५ वर्षीय बक्सर भन्ने राजिब लामा र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दिपेश संजेल छन्।

प्रहरीले उनीहरूलाई रितपूर्वक खानतलासी गर्दा बिक्री वितरणका लागि लुकाइछिपाई राखिएको अवस्थामा ट्रामाडोल ८३०० पिस बरामद गरेको जनाएको छ। साथै, उनीहरूबाट ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुई वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचैल जनामाथि लागूपदार्थ (नियन्त्रण) ऐनअन्तर्गत मुद्धा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *