काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमले खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाउन र शून्य भ्रष्टाचार कसरी हुन्छ भन्ने कुरामा चनाखो रहन निर्देशन दिएकी छन् । कार्यभार सम्हालन मन्त्रालयमा पुगेकी मन्त्री शर्माले आफूले भ्रष्टाचार भएको सुन्न नचाहेको बताईन् । उनले आर्थिक भ्रष्टाचारबाहेक दुःख दिने, काखापाखा गर्नेजस्ता काम पनि भ्रष्टाचारकै अंग रहेको बताईन् ।
‘कुनै पनि लेवलमा कतैबाट पनि भ्रष्टाचार भएको चाहिँ सुन्न नपरोस् । भ्रष्टाचार आर्थिक रुपमा पनि हुन्छ र प्रशासनिक रुपमा पनि हुन्छ । हामीले अनावश्यक रुपमा दुःख दिने, काख पाखा गर्ने सबै कुरा पनि भ्रष्टाचारकै अंगहरु हुन् । त्यसकारण त्यो चाहिँ नहोस् भनेर हामीले ख्याल गर्नुपर्छ,’– उनले भनिन् ।
उनले जेन–जी आन्दोलनमा सहिद भएका परिवारलाई निशुल्क स्वास्थ विमाको व्यवस्था गरिने उनले बताईन् । आन्दोलनका घाइतेहरुलाई उनीहरु पूर्ण रुपमा ठीक नहुन्जेलसम्म राज्यले निशुल्क रुपमा उपचार दिने बताईन् ।


