काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा गएर नफर्किएकाहरुको बारेमा सरकारले अनुसन्धान गरिराखेको बताएका छन् ।
आज (बुधबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । साथै, प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेकाहरु नफर्किएको भन्ने कुरा बत्तिस आनै गलत रहेको उनको दाबी छ ।
साथै, उनले संसद्मा प्रधानमन्त्रीको भ्रमण टोलीमाथि प्रश्न उठाउने सांसद (सुमना श्रेष्ठ) ले आत्मालोचना गरिसकेको उनको दाबी छ । उनले भने, ‘स्पेन भ्रमणमा प्रधानमन्त्री जानुभएको बारेमा कुरा उठ्यो । संसद्मा प्रश्न गर्नुभएको माननीयले एक खालको आत्मलोचना गर्नुभएको छ । मैले त्यसो भनेको होइन भन्नुभएको छ ।’
प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा गएका मानिसहरु नफर्किएको भन्ने आरोप निराधार रहेको उनको दाबी छ ।
