काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रभित्रको विवाद र अन्तर कलहको बारेमा टिप्पणी गरेका छन् । उनले माओवादीलाई पूरानै एकमनावादी, नोकरशाही केन्द्रीइतावादी कम्युनिष्ट पार्टीको संज्ञा दिएका छन् ।
उनले माओवादीमा भावनात्मक ढंगले टाँसिएर बसिहरेका र पार्टी सुप्रिमोले पहिलो एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्ने साथीहरुले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण् गर्न साहस गर्नुपर्ने सझुाव दिएका छन् । विश्व कम्युनिष्ट आन्दोलनमा भएका घट्नाहरुको सन्दर्भ स्मरण गराउँदै बाबुरामले नेपालका कम्युनिष्टहरुले पनि आफ्ना विरोधीहरुको राजनीतिक र सांगाठनिक जीवन समाप्त पारिदिएको दाबी गरेका छन् ।
बाबुरामले लेखेका छन्–
अंग्रेजीमा एउटा चर्चित भनाइ छ- ‘We learn from history that we do not learn from history’ अर्थात् ‘हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट सिक्देनौं’। नेपालको कम्युनिष्ट आन्दोलनमा यो हुबहु लागू हुन्छ भन्दा अतिशयोक्ति हुँदैन।
मूलत: २०२८-३१ को झापा आन्दोलन र २०५२-०६२ को जनयुद्धको जगमा उभिएको नेपाली कम्युनिष्ट आन्दोलन संसारको पहिलो र करिब ७५ बर्षसम्म सत्तामा रहेर अहिले विलोप भएर गएको रूसको कम्युनिष्ट पार्टी र आन्दोलनकै दिशामा अग्रसर भैरहेको देखिनु बिडम्वनापूर्ण छ।
यसको तीव्र वैचारिक स्खलन/बन्ध्याकरण र राज्यसत्ता संचालनको प्रवृत्ति र अवस्था हेर्दा ब्रेजनेभ-काल (सन्१९६४-८२) को ‘era of stagnation’ ( ‘गतिहीन काल’ अर्थात् सुन्निएर मोटाएको जस्तो) संग मिल्दोजुल्दो देखिन्छ। अर्थात् पटकपटक सत्तामा बस्दा पनि कुनै गुणात्मक र उल्लेख्य रूपान्तरणकारी उपलब्धी छैन तर गफ चाहिं रूसका भूपू कमरेडहरूले मिति नै तोकेर ‘बीस बर्षभित्र साम्यवाद आउँछ’ भने झै यहाँ पनि ‘समाजवाद/साम्यवाद’ को डिङ् हान्न र कार्यकर्ता अल्मल्याउन भ्याएकै छन्।
भित्री पार्टी सम्बन्ध, अथवा सनातनी कम्युनिष्ट पदावली अनुसार ‘अन्तर-पार्टी संघर्ष’, को कुरा गर्दा यहाँ पनि स्टालिनको मुख्यत: सन् १९२७-३८ कालखण्डको ‘Great Trial'(Terror?) को झल्को दिने गरी मूल नेतृत्वसंग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता-कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाकोनिम्ति बिदा गर्ने प्रवृत्ति उत्तिकै हावी छ।
यस सन्दर्भमा अझै विडम्वनापूर्ण र हास्यास्पद प्रवृत्ति र घटना त के भने जसरी रूसमा स्टालिनले लेनिनको पालादेखिका सबै प्रमुख समकक्षी र आफ्ना प्रतिष्पर्धी नेताहरूलाई पालैपालो भौतिक रूपले नै सफाया गरेका थिए (जस्तै- त्रोत्स्कीलाई सबभन्दा पहिले सन् १९२७ मा पार्टीबाट निष्काशन, १९२९ मा देशनिकाला र पछि विदेशमै हत्या; जेनोभिभ र कामेनेभलाई बिरालाले मुसा खेलाए झैं पटकपटक पार्टीबाट निष्काशन र अन्त्यमा१९३६ मा हत्या; बुखारिन, रिकोभ लगायतलाई त्यसरी नै अन्त्यमा १९३८ मा हत्या , आदि इत्यादि)। (विस्तृत विवरणकालागि हेर्नोस्: Isaac Deutscher, STALIN: A Political Biography, Penguin Books)
त्यसकै झल्को आउने गरी अहिले नेपालका ‘कम्युनिष्ट’ मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त?
अझै पुरानै एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिष्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका र पार्टी सुप्रिमोले पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्नेसाथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने कि?
