सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्नुपर्छः सांसद कार्की

काठमाडौँ । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा आव २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा भाग लिँदै उनले बेरोजगारीको अन्त्य र विकाससँगै समृद्धिको ढोका खोल्नका निम्ति आइटीको विकास गर्न जरुरी रहेको बताए ।

उनले भने, “नेपालमा झण्डै ७० प्रतिशत जनसङ्ख्या आज मोबाइल र इन्टरनेटको पहुँचमा छन् । लाखौँ युवा बेरोजगार छन् । छिमेकी देशहरुले आइटी सेवाको निर्यातबाट वर्षको अर्बौ डलर आम्दानी गरिरहेका छन् । त्यसैले यो क्षेत्रलाई घोषणाको विषय मात्र होइन यस क्षेत्रलाई विकास गरेर लानुपर्नेछ ।”

सांसद कार्कीले बजेटमा समर्थन जनाउँदै यो बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताए ।

“यो बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त छन्”, उनले भने, “बजेटले उच्च, दिगो, फराकिलो आर्थिक वृद्धि दर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सावर्जनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने विषय प्राथमिकतामा राखेको छ ।”

सांसद कार्कीले अहिलेको बजेट कार्यान्वयन प्रतिफलमूखी बनाउन विनियोजन क्षमता, कार्यान्वयन क्षमता र जवाफदेहिता तथा नीगित हस्तक्षेपका निम्ति अर्थमन्त्रीले मूल्याङ्कन गरे अघि बढ्नुपर्ने सुझाव दिए ।

उनले जबसम्म बजेटमा गरिएका प्रतिबद्धता कार्यान्वयन गरेर देखाउन सकिँदैन तबसम्म मुलुक र बजेटले हासिल गर्ने भनिएको लक्ष्य प्राप्त गर्ने कठिनाइ हुने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *