दोधारा चाँदनी (कञ्चनपुर) । सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।
तर अल्पसङ्ख्यक सुनाहा जातिको जातीय पहिचान सूचित नहुँदा अल्पसङ्ख्यक समूदायले प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का चन्द्रकला सुनाहा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्दा केटाकेटी पढाउन नसकेको बताउँछिन् ।
पछिल्लो समय पुख्र्यौली पेसासमेत लोप भएपछि विकल्पका रूपमा यो समूदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेका छन् ।
उनले आफ्नो जाति सूचिकृत नहुँदा राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरिन् । बर्दिया र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समूदायले पटकपटक जातीय पहिचानका लागि सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको मेघादेवी सुनाहा बताउँछिन् ।
उनले निर्वाचनका समयमा मत माग्न आउने उम्मेदवारले जातीय पहिचान दिलाउने प्रतिवद्धता गरेपनि हालसम्म पुरा नगरेको गुनासो गरे । कञ्चनपुरको भीमदत्तमा ८४ परिवार र बर्दियामा गरी करिब एक हजार १०० सुनाहाको जनसङ्ख्या छ ।
