काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणकी प्रतिवादी अमला रोका पुन पक्राउ परेकी छन् । काठमाडौं जिल्ला अदालतले उनलाई आज दुई लाख धरौटीमा रिहा गरेको थियो । धरौटी तिरेर रिहा भएलगत्तै उनलाई सम्पत्ति शुद्धिकरण मुद्दामा फेरि पक्राउ गरिएको हो ।
६१ किलो सुन तस्करी प्रकरणमा नाम जोडिएपछि उनी फरार रहन्दै आएकी थिईन् । रोकाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरिएको थियो । उनी केही दिनअघिमात्रै काठमाडौंबाट पक्राउ परेकी थिईन् । अमला उक्त सुन तस्करीमा मुछिएको बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन् ।
गत २०८० साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट ६१ किलो सुन बरामद गरेको थियो । अमलाको राजनीतिक निकटता नेकपा (माओवादी केन्द्र) सँग रहेको बताइन्छ । ठमेलमा रहेको होटेल भियना अमलाको नाममा रहेको छ ।
