ओखलढुंगा । सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
पालिका स्तरीय सार्वजनिक सुनुवाई र ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो । १० वटा वडा रहेको पालिकामा ८० वर्ष पुगेका ४८० ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट, इलेक्ट्रिक जग र थर्मस प्रदान गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।
त्यसैगरी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगदसहित कद्दर पत्रले सम्मान गरिएको छ । स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः नगद रु. दुई हजार, एक हजार पाँच सय र एक हजार सहित सम्मान गरिएको हो । पालिकाबाट प्रतियोगितामा भाग लिई ३१ जनाले स्वर्ण, १२ जनाले रजत र तीन जनाले कास्य पदक प्राप्त गरेका थिए ।
दुई आर्थिक वर्षको एसइई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने छात्रछात्रालाई नगदसहित कद्दर पत्रले सम्मान गरिएको छ । आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट जिपिए ल्याउने पाँच छात्रछात्रालाई नगद रु. पाँच हजारसहित कद्दर पत्रले सम्मान गरिएको हो ।
एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयलाई पनि सम्मान गरिएको छ । तीन वटा विद्यालयले आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका थिए । सुनकोशी माध्यमिक विद्यालय बल्खु गौडा, आरुभञ्ज्याङ माध्यमिक विद्यालय बल्खु र पञ्चकन्या माध्यमिक विद्यालय सिस्नेरीले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका थिए । ती विद्यालयलाई नगद रु. २० हजारसहित कद्दर पत्रले सम्मान गरिएको शिक्षा शाखा प्रमुख विवेक तामाङले जानकारी दिए ।
शिक्षामा उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यालय र विद्यार्थीहरूको मनोबल उच्च पार्दै हौसला प्रदान गर्न सम्मान गरिएको पालिका अध्यक्ष कमल तामाङले बताए ।