काठमाडौं। नेपाल मज्दुर किसान पार्टीका नेता प्रेम सुवालले चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको बताएका छन्।
सोमबार भएको सर्वदलीय बैठकमा उनले सिद्धान्तहीन गठबन्धनले देशमा भ्रष्टाचार बढेको भन्दै पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले जनतालाई धोका भएको बताए।
उनले भने, ‘चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको हो। पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले देश र जनतालाई धोका भएको हो।’
यस्तै, उनले धेरै पटक प्रधानमन्त्री र मन्त्री हँदैमा त्यो जनताको नहुने रहेछ भन्ने कुरा देखा परेको भन्दै यस विषयतर्फ सबै सचेत हुन आवश्यक रहेको बताए।
उनले भने, ‘धेरै पटक प्रधानमन्त्री र मन्त्री हुँदैमा त्यो जनताको नहुने रहेछ भन्ने कुरा पनि देखा परेको छ। जस्तै राणा शासन त्यति लामो हुँदा पनि जनताले रुचाएन नि। यसतर्फ सबै सचेत हुन आवश्यक छ। दलको नाम मात्र फरक छ तर सरकारमा गएर गर्ने काम एउटै छ। केही फरक छैन्।’
भदौ २३ र २४ को घटनाले सरकारहरुले समयमा देश र जनताको समस्या समाधान गर्न नसकेको कुरा देखिएको भन्दै राजनीतिक दलको उद्देश्य देश र जनताको निःस्वार्थ सेवा हो र यो कुरा दलको विधानमा उल्लेख हुनुपर्ने पनि उनको भनाई छ।
