काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले संयुक्त राष्ट्रसङ्घीय महिला महासन्धि समिति (सिड) ले नेपालका लागि दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महिला, कानुन र विकास मञ्चले यहाँ आज आयोजना गरेको सिड समितिले नेपालका लागि जारी गरेको निष्कर्ष टिप्पणीबारे छलफलमा उनले सिड समितिले सिफारिस गरेको निष्कर्ष टिप्पणी र सिफारिसको कार्यान्वयन गर्न यस वर्ष प्रस्तुत भएको नीति तथा कार्यक्रममा महिलाको अधिकार सुनिश्चित गर्न र सशक्तिकरण गर्नका लागि विभिन्न कार्यक्रम ल्याएको बताए ।
सिड महासन्धिमा विशेषगरी महिलाको समग्र उत्थान र सशक्तिकरणमा विशेष ध्यान दिने र महिलाविरुद्धको हिंसा, शोषण र भेदभाव अन्त्य गर्ने विषय उल्लेख छ । साथै, शिक्षा, स्वास्थ, रोजगारी, जोखिममा रहेका महिला, ग्रामीण महिला, अपाङ्ता भएका महिलालगायत महिलाभित्रको अन्तरसम्बन्धित विषय पनि सिडमा उल्लेख छ ।
उनले सिडको सिफारिसको प्रभावकारी र योजनाबद्ध कार्यान्वयनका निम्ति आगामी ४ वर्षको मार्गचित्र तयार गर्नको मन्त्रालयले समन्वय गरेको उल्लेख गर्दै मार्गचित्र कार्यान्वयनमा आएपछि सिड समितिका सिफारिस कार्यान्वयन हुने बताए ।
सिड कार्यान्वयनका लागि निष्कर्ष टिप्पणी र सिफारिसको नेपालीमा अनुवाद गर्ने क्रममा रहेको उनको भनाइ छ । मन्त्री सुडीले सरकारका तर्फबाट महिलाका निम्ति समान अवसर, अधिकार र कानुनी सुरक्षा प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
