मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिका–६ को कुनी र गणेशकोटमा सिँचाइ सुविधा नहुँदा अहिलेसम्म रोपाइँ भएको छैन । सिँचाइ कुलोको सुविधा नहुँदा असारमा भइसक्ने रोपाइँ साउन लाग्दासम्म पनि हुन नसकेको हो ।
सिँचाइ सुविधा नहुँदा दुवै गाउँमा ८० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको गाउँपालिका पूर्वउपाध्यक्ष मनराज शाहीले बताए । “कुनी र गणेशकोट गाउँमा ८० प्रतिशत जमिन रोपाइँ हुन सकेको छैन”, उनले भने, “यहाँका किसान दाजुभाइको मानो छरी मुरी उमार्ने सपना सपनामै सीमित रहेको छ ।”
साउनको टन्टलापुर घामले गर्दा धानको बीउ पनि सुक्न थालेको पूर्वउपाध्यक्ष शाहीले जानकारी दिए । “यो समय भनेको रोपाइँ गर्ने बेलाको समय नभई रोपाइँ गरिएका खेत गोडमेल गर्ने समय हो”, उनले भने, ‘तर के गर्ने आकासे पानीको भरमा जिउने किसान अहिलेसम्म खेतमा रोपाइँ सुरु नहुँदा आफ्नो र परिवारको पेट कसरी पाल्ने भनेर चिन्तित छन् ।”
गाउँमा सिँचाइका लागि नजिकैको अधेरी खोलाको पानी ल्याउनका लागि गाउँपालिकाले ठेक्का लगाएको र त्यसको काम समयमै नहुँदा समस्या भएको स्थानीय अर्जुन शाहीले बताए । “सिँचाइका लागि नजिकैको अधेरी खोलाको पानी ल्याउनका लागि ठेक्का लगाइएको छ”, उनले भने, “त्यसको काम नहुँदा रोपाइँ हुन समस्या भएको छ । सिँचाइका लागि आधा काम मात्रै भएको र सिँचाइ कुलो कहिले बन्छ थाहा नभएको पूर्वउपाध्यक्ष शाहीले बताए ।
