काठमाडौं । बाणिज्य बैंकहरुले आगामी साउन महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। कूल २० वटा बाणिज्य बैंकमध्ये व्यक्तिगत मुद्दतीतर्फ निक्षेपमा १६ वटाले ब्याज घटाएका छन् भने ४ वटा बाणिज्य बैंकले असारकै व्याजदरलाई कायम राखेका छन् । साउन महिनाका लागि क्नै पनि बैंकले व्यक्तिगत निक्षेपमा व्याज बढाएका छैनन् ।
साथै, संस्थागत निक्षेपतर्फ ११ वटा बैंकले व्याजदर घटाएका छन् भने ८ वटा बैंकले असार महिनाकैलाई निरन्तरता दिएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट नीतिगत दर ५ प्रतिशतबाट ४.५ प्रतिशत, बैंकदर ६.५ प्रतिशतबाट ६ प्रतिशत र निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारेको थियो । राष्ट्र बैंकको नीतिको प्रभाव बैंकको व्याजदरमा पनि परेको हो ।
साउन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ प्रभु बैंकले ४.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत, एभरेस्ट बैंक र एनआईसी एसिया बैंकले ब्याज ५.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ३.१ प्रतिशत, नबिल बैंक ४.०५ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले ४.२५ प्रतिशत ब्याज, लक्ष्मी सनराइज बैंकले ४.५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.३५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
त्यसैगरी, कुमारी बैंकले ४.०१ प्रतिशत, माछापुच्छ्रे बैंकले ४ प्रतिशत, ग्लोबल आईएमई बैंकले ४.२५ प्रतिशत, सिद्धार्थ बैंकले ४.७५ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले ३ प्रतिशत, कृषि विकास बैंकले ३.५, नेपाल बैंकले ३.७५ प्रतिशत, एनएमबी बैंक र हिमालयन बैंकले ५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
त्यसैगरी संस्थागततर्फको निक्षेपमा पनि ११ वटा बैंकले व्याजदर घटाउका छन् । ८ वटा बैंकले असारकै व्याजदरलाई निरन्तरता दिएका छन् भने हिमालयन बैंकले १ प्रतिशत व्याजदर बढाएको छ ।
