सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्।

उदयपुरको उदयपुरगढी गाउँपालिका-७ जोगिटोलस्थित सडकमा प्र.३-०१-००६ ख ०५६१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री रौतामाई गाउँपालिका-७ बस्ने ७२ वर्षीय टंक बहादुर लामिछाने मगरको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका ट्रकका सहचालकलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्य खोलास्थित प्र.२-०१-००१ ज ००५३ नम्बरको विङ्गर गाडी अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा गाडीमा सवार सिराहा नराह गाउँपालिका-५ बस्ने ३० वर्षीया ममता देवी यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको कटारी अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ८ जनाको ट्रमा सेन्टर काठमाडौं र २ जनाको नर्भिक अस्पताल थापाथली काठमाडौंमा उपचार भइरहेको छ। हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।

डडेल्धुराको अजयमेरू गाउँपालिका-१ पुईलेक कासिपुरस्थित सडकमा हाल नम्बर प्लेट नभएको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ बस्ने ४५ वर्षीय गणेश भट्टको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *