सर्लाहीको चक्रघट्टा गाउँपालिकाका अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र विभिन्न सामान आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो गाउँपालिकाको वडा नं १ देखि ९ सम्मका लागि सौर्यबत्ती जडानका लागि आर्थिक वर्ष २०७८/७९ मा दुई करोड १६ लाख बराबरको बजेट विनियोजन गरिएको थियो ।

विनियोजन भएको बजेटविपरीत खम्बा, सोलार प्यानल, लाइट, तार, नटबोल्ट, ब्याट्री, चार्ज कन्ट्रोलर खरिद तथा जडानसमेतका लागि बद्नियत राखी टुक्राएर पाँच वटा प्याकेज बनाइएको पाइएको छ ।

विनियोजित बजेटभन्दा बढी दुई करोड ५३ लाख १७ हजार २५० बराबरका लागि अनुमान स्वीकृत गरी बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको थियो । त्यसमा तीन वटा फर्मबीचमा मात्रै प्रतिस्पर्धा गराइएको थियो । सो कार्यका लागि गाउँपालिकाले दुई करोड ४९ लाख ४० हजार ११० बराबरको रकम विभिन्न सौर्यबत्ती कम्पनीलाई भुक्तानी दिएको थियो ।

सो कार्यमा भ्रष्टाचार भएको भन्दै आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साहविरुद्ध रु दुई करोड ४९ लाख ४० हजार ११० बराबरको बिगो माग दाबी गर्दै आज विशेष अदाmलतमा मुद्दा दायर गरेको हो ।

यसैगरी लेखापाल सञ्जयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख रामकैलाश राय यादव, सबइञ्जिनियर सन्तोष राय र राजु रायविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ ।

यस्तै, लेखा अधिकृत शिवशङ्करप्रसाद कुशवाहाविरुद्ध रु ४७ लाख ४९ हजार ५६०, स्काई राइज टेडिङ कन्सर्न मलङ्गवा सर्लाहीका सञ्चालक जयप्रकाश यादवविरुद्ध रु ५८ लाख ३९ हजार ८४० माग दाबी गरिएको छ ।

त्यस्तै, एसके स्टोर्स मलङ्गवाका सञ्चालक रञ्जुकुमारी साहविरुद्ध रु ९५ लाख २३ हजार ९१० र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्टचर सोलुसनका सञ्चालक सङ्गीताकुमारीविरुद्ध रु ९५ लाख ७६ हजार ३६० बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *