सरकार र शिक्षक महासंघबीच भएको नौ बुँदे सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषदको असन्तुष्टि

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ । बिहीबार विज्ञप्ति जारी गरी परिषदले सहमतिको विरोध जनाएको हो ।

परिषदले भनेको छ, ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ ।’

प्रारम्भिक बाल विकास सहजकर्ता (बाल विकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने, सो पदबमोजिम (प्रति महिना ३२,९० २) तलब उपलब्ध गराउने, विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम २६,०८२ रुपैयाँ उपलब्ध गराउने र सो रकम सङ्घीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने प्रस्ताव महासङ्घले गरेको थियो । तर, सहमतिपछि भने नेपाल सरकारले तोके बमोजिम पारिश्रमिक हुने भन्ने व्यवस्था गरिएको हो ।

सरकार र शिक्षक महासङ्घबीच बुधबार नौबुँदे सहमति भएको थियो । शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँको निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने सहमति भएको छ ।

त्यस्तै अस्थायी प्रकृतिका शिक्षक, राहत, अस्थायी, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने जनाइएको छ ।

प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकेबमोजिम व्यवस्था गर्ने, आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने सहमतिमा उल्लेख छ ।

स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुनबमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने समति भएको छ ।

नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने, नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने तथा निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षकसरह हुनेगरी कायम गर्ने सहमति भएको छ । २० चैतदेखि काठमाडौंमा चलेको आन्दोलन बुधबारको सहमतिपछि टुंगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *