सरकार-जेनजी सम्झौताविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको सम्झौतामा संविधानसँगै बाझिने प्रावधान रहेको भन्दै परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले प्रारम्भिक सुनवाइपछि कारण खुलाई लिखित रूपमा पेस गर्न आदेश जारी गरेको हो ।

सरकार र जेनजीबिच गत मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो । उक्त सम्झौताविरुद्ध अधिवक्ताहरू सुदिप भण्डारी, रोहित ओझा र कानुनका विद्यार्थीहरू आयुष बडाल र स्मृति अधिकारी लगायतले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । निर्वाचनको म्यान्डेट पाएको अन्तरिम सरकारलाई सम्झौताको अधिकार नभएको रिटमा उल्लेख गरिएको छ ।

सम्झौतामा उल्लेख भएको संघीय र प्रदेश सरकारका प्रमुख अधिकतम दुई कार्यकाल मात्र पदमा रहन पाउने लगायतका प्रावधान संविधानसँग बाझिएको दाबी पनि रिटमा गरिएको छ।

रिटमा सम्झौता र राजपत्रमा जारी गरिएको सूचनालाई असंवैधानिक ठहर गर्दै उत्प्रेषणको आदेश माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *