नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दुर्गा प्रसाईँलाई आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको आरोप लगाएका छन् ।
नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा आज च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए ।
राष्ट्रिय मानव अधिकार आयोगले समेत बोलेकै आधारमा प्रसाईँलाई समाउनु मानव अधिकारको उल्लङ्घन हो भनिसकेको अवस्थामा सरकारले उनलाई थुनिराख्न नमिल्ने ओलीको तर्क छ ।
दुर्गा प्रसाईँले दिउँसो भिडियो सार्वजनिक गरेकामा राति सुतिरहेको बेला समातेको बताउँदै ओलीले दुर्गा प्रसाईँले देखाएको भिडियोको जवाफ सरकारसँग छ कि छैन ? भन्दै प्रश्न गरे । प्रश्नको जवाफ थुनेर नहुने उनको तर्क छ ।
‘गिरफ्तार गरेर, मुख बन्द गरेर समस्या समाधान हुँदैन, म सरकारलाई भन्छु–दुर्गा प्रसाईँलाई तुरुन्त छाड्नुस्, बोलेको भरमा थुन्न पाइन्छ ?’, ओलीले प्रश्न गरे ।
