काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रीहरुको उपस्थिति विना नै सदनको सञ्चालन गरेर नियमावलीको ठाडो उल्लङ्घन भएको बताए । उनले सदनमा लामो समयदेखि प्रतिपक्षी दलहरुले अवरोध गरे पनि सरकारले नजर अन्दाज गरेको बताए । मन्त्रीहरुको उपस्थिति बिना सदनको कारबाही अगाडि बढाउन नसकिने उनले बताए ।
‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरेर साध्य नै छैन । बारम्बार हामीलाई सदनबाट कार्यसूची आउँछ, ती कार्यसूचीहरु हटाइन्छ । कारण के भनेर हामी सोध्छौं, मन्त्रीको उपस्थिति छैन । सदनमा आन्दोलन भएको यत्रो समय भयो, सरकार त्यसप्रति जवाफदेही पनि छैन । प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुभयो, आज दिइएको कार्यसूचीमा पनि मन्त्रीहरु सबै उपस्थित हुनुहुन्न । यो संसद्ले नै हेर्नुपर्ने विषयवस्तु हो । त्यसकारणले मन्त्रीहरको उपस्थिति बेगर आज हुने जुन छलफल छन्, त्यो छलफल अगाडि बढाइनु हुँदैन । यो हाम्रो नियमावलीको ठाडो उल्लङ्घन हो,’– उनले भने ।
सदनमा सांसदहरुले नियमावली पालना गर्नुपर्ने, सरकारले भने पालना गर्न नपर्ने दृष्य देखिएको उनले बताए । सरकार र सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले संसद्को नियमावली पालना नगरेको बताए । उनले बजेट पुस्तिका समयमै नदिइएको कारण आफूहरुले खर्च कटौतीको प्रस्तावसमेत दर्ता गराउन नपाएको बताए ।
