काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूविरुद्ध थप योजना बनाइरहेको आशंका व्यक्त गरेका छन् । बुधवार जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घर अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले आफूमाथि व्यक्तिगत दुस्मनी पालेको भन्दै आफूविरुद्ध थप योजना बनाइराखेको गम्भीर आशंका रहेको बताएका हुन् ।
गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ्ग देखिएको उनले बताए । अध्यक्ष ओलीले अचानक पलाएका सरकारको तमासासँग विचलित नहुने भन्दै ओलीले एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्ने स्पष्ट पारे ।
त्यस्तै उनले जेनजीको आन्दोलनको नाममा गलत तत्त्वहरूले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गरे । सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजनी गर्नेहरू आपराधिक समूह नै भए पनि उनीहरूलाई सरकारले कारबाही समेत गर्न नसकेको आरोप लगाए ।
अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमाथि तोडफोड र आगजनीका साथै महत्त्वपूर्ण सामानहरू लुटिएको बताए ।
