सम्पादकीयः गणतन्त्रवादीहरुले नै हुर्मत लिएको गणतन्त्र

सम्पादकीयः
देशले विक्रम सम्वत २०८२ को गणतन्त्र दिवस मनाईरदा यसको विपक्षमा संसदको पाचौं ठूलो दल राप्रपाको नेतृत्वमा सडक विद्राह सुरु भएको छ । गणतन्त्रका अठार वर्षमा जनतामा कुनै चैन र हर्ष नदेखिएको आलोकमा जनतामा व्याप्त निराशा र असंतुष्टीको जगमा टेकेर राप्रपा लगायतका गैर गणतन्त्रवादीहरु व्यवस्था परिवर्तनकै पक्षमा सडकदेखि सदनसम्म, घरघरदेखि शहरबजार र राजधानीसम्म आन्दोलित छन । जय गणतन्त्र भनेर सत्तासिनहरुले जति भाषण गरे पनि जनताले खाँटी गणतन्त्रवादीहहरुको कथनी र करणी वीचको आकाश पातालको विभेद स्पष्ट रुपमा देखिभोगिरहेका छन । जनताले खोजेको र रोजेको व्यवस्था पाए पनि आफ्नो अवस्था परिवर्तनमा कुनै लाभ न त पाएका छन, न त पाउने संकेत नै देखेका छन । त्यसैले जनता व्यवस्थाका पक्षमा एकढिक्का छैन्न । निराश जनता या त व्यवस्था विराधी हर्कतका रमिते छन, या मौन छन ।

अहिले नेपाली गणतन्त्रमा चौतर्फी बादल लागेको छ । यसका कारक र कारण अरु कोही नभएर यही गणतन्त्रका लागि अबिराम संघर्ष र बलिदान गर्ने दलहरु र तिनका शीर्ष नेतृत्व नै हुन । गणतन्त्रका हिमायतीहरुले मुखमा गणतन्त्र मात्र जप्ने तर कर्म र व्यवहारमा सधै भ्रष्टाचार, कुशासन, परिवारवाद र कमाउधन्दालाई मात्रै प्रश्रय दिएकै कारण जनता दलतन्त्र तथा नेतातन्त्रबाट वाक्कदिक्क भएका छन । जुन जोगी आए पनि कानै चिरेका भन्ने लोकोत्ति संझदै जनता भ्रष्ट र नीजि स्वार्थमा मात्र केन्द्रीत र तल्लिन गणतन्त्रवादी दल र शीर्ष नेतृत्वबाट उन्मुक्ति चाहिरहेका छन । समकालिन नेपालको यो भुतरातलीय यथार्थ हो । यसमा शायदै कसैको बिमति होला ।

गणतन्त्रको उमेर बढ्दै १८ वर्षे युवामय हुदैं गर्दा यसले जनताको मनमा सकारात्मक उर्जा, हौसला र समर्थन बढाउन नसक्नुमा संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको भन्दा पनि ज्यादा दोष यसका संचालक, नेतृतवकत्र्ता गणतन्त्रवादी दल र तिनका शीर्ष नेतृत्वमण्डलीकै छ । गणतन्त्रको मूल्य, मान्यता र आर्दशलाई सत्तासौदावाजी र कमाउधन्दाको भ्रष्ट आचरणले गणतन्त्रलाई कुपोषित गर्दै लगिरहेको छ । अब जनतालाई व्यवस्थाको होईन, आफ्नो अवस्था परिवर्तनको चिन्ता र चासो छ । त्यसैले उमेर बढेसंगै होचो, पुडको र रोगी हुदै गएको गणतन्त्रप्रति चौतर्फी हमलाहरु बढेको छन । अहिले जारी गणतन्त्र विरोधी आन्दोलन वा विद्रोह र जनअंतुष्टिहरु गणतन्त्रवादीहरुकै कुशासन र गणतन्त्रविरोधी चौतर्फी हर्कतहरुका समष्टिगत परिणाम वा वाईप्रडक्टहरु हुन । यसमा गणतन्त्र ईन्कार गर्नेहरुले मौकामा चौका हानेका हुन । यो स्वभाविक प्राकृतिक प्रतिक्रिया मात्र हो ।

मुखमा राम राम, बगलीमा छुरा भने झैं गणतन्त्रको बर्को ओढेर भ्रष्टाचार र कुशासनलाई बढवा दिने गणतन्त्रवादी दल र तिनका शीर्ष नेतृत्वले आफूलाई निर्मम समीक्षा गरेर सुध्रिने र सच्चिने काममा जति ढिलाई गर्छन, उति नै यो व्यवस्थामाथिका काला बादलहरु दिन दुगुण, रात चौगुणा बढिरहनछन । त्यसैले कोही शासक वा गणतन्त्रका हिमायतीहरुले ह्याप्पी रिपव्लिक डे भनेर उत्सव मनाउने हो भने पहिले गणतन्त्रका न्यूनतम मूल्य, मान्यता र आदर्श बमोजिम पहिले आफैं ईमानदार र जनउत्तरदायी हुनुको विकल्य छैन ।

नागरिकका लागि अब कुनै तन्त्र, वाद र व्यवस्थाप्रति भन्दा पनि आफ्नो जीवन दैनिकीमा परिवर्तनको अपेक्षा नै मुख्य सवाल हो । त्यसैले सत्तासिन र शासकहरुले, गणतन्त्रका हिमायतीहरुले अहिले गणतन्त्र विरुद्धका विद्रोहलाई बन्दुकको शक्ति वा गाली र आलोचनाको प्रहारले हैन, आफ्नै शासकीय शैली र व्यवहारमा आमुल परिवर्तन मार्फत जवाफ फर्काउन सक्नु पर्छ । यसो भएमा मात्र गणतन्त्रविरोधीको मुखबन्दी हुनेछ, अन्यथा तीव्र जनअन्तोषको विचमा हेर्दाहेर्दै गणतन्त्रको पतन नहोला भन्न सकिन्न । सबैलाई चेतना भया । किन की जनताको शक्तिको सामु कुनै पनि व्यवस्था निर्णायक र शक्तिशाली वा जीवन्त हुन सक्दैन्न नी सक्छन र ? देश र जनताको हितको पक्षमा सच्चिने र सुध्रिने मौका बनोस यो गणतन्त्र दिवस, अन्यथा यो अन्तिम गणतन्त्र दिवस बन्ने खतराप्रति सबैको ध्यान पुगोस । हामी त यति भन्छौं, सबैभन्दा पहिला देश, सबैभन्दा माथि देश । जय देश, जय जनता । जनता जनार्दन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *