सभामुखद्वारा रास्वपाका कार्यवाहक सभापति र राप्रपा अध्यक्षसँग छुट्टाछुट्टै छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

रास्वपा कार्यवाहक सभापति अर्यालसँग सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेकाले सदन अवरोधको स्वरुप बदल्न तथा सदनलाई मर्यादित बनाउन उनको ध्यानाकर्षण गराउनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

रास्वपा कार्यवाहक सभापति अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाए । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे विभिन्न दलका प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले राप्रपाका अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन अनुरोध गरेका थिए । अध्यक्ष लिङ्देनलाई टेलिफोन गरेर सभामुखले संसद्मा आफ्ना विषय राखेर सदनको कारबाही सञ्चालनमा सहयोग गर्न आग्रह गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *