काठमाडौं । आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा डब्लुएसएम, सामाजिक सुरक्षा नागरिक समाज र होमनेट नेपालको सहयोगमा इन्सपायर नेपालको आयोजनामा शुक्रबार सबैका लागि सामाजिक सुरक्षाः आधारभूत मानव अधिकार बिषयक अन्तरक्रिया आयोजना गरिएको छ ।
नोभेम्बर २५ देखि थालनी भएको लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियानको सन्दर्भलाई पनि जोडेर यस बर्षको नारा सामाजिक सुरक्षाः सर्वव्यापी स्वास्थ्य सेवामा पहुँच, पेन्सनयोग्य समाज, उत्पादकत्व अभिबृद्धिसहित नागरिकको जीवन रक्षा भन्ने नाराका साथ आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरुमा खासगरी अनौपचारिक क्षेत्रका तमाम श्रमिकहरुको सहभागिता र लाभमा केन्द्रित थियो ।
सरकारी, श्रमसंगठन, सामाजिक संस्था, निजी क्षेत्र र अनौपचारिक क्षेत्रका श्रमिकहरु स्वयम्को सक्रिय सहभागिता रहेको अन्तरक्रियामा संविधानसभाका सभासद पेम्बा लामाले कार्यपत्र प्रस्तुत गरेका थिए भने बुढानीलकण्ठ नगरपालिका, श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभाग, सामाजिक सुरक्षा कोष लगायतका सरकारी योजना अविलम्ब अनौपचारिक क्षेत्रका श्रमिकहरुका लागि पनि कार्यान्वयन हुनपर्ने कुरामा जोडदिएका थिए । कार्यक्रममा अक्सफाम, सेभ द चिल्ड्रेन, डब्लुएसएम लगायतका विकास साझेदार संस्थाहरुको पनि सहभागिता थियो ।
अनौपचारिक क्षेत्रका श्रमिकहरुको लागि सामाजिक सुरक्षा सुनिश्चित गर्नका लागि भविष्यमा तीनै तहको सरकार र सबै सरोकारवाला पक्षहरु वीच प्रभावकारी समन्वयका साथ काम गर्न सबैले उक्त कार्यक्रममा जोड दिएका होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले जानकारी दिए ।


