काठमाडाैँ। नेकपा (एमाले) ले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ।
शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले संविधानको रक्ष, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको हो।
अभियान अन्तर्गत कार्तिक २२ गते देशैभरका वडाहरूमा जनभेला, २५ गते पालिकास्तरमा प्रदर्शन तथा २९ गते जिल्ला सदरमुकामहरूमा जनसभा आयोजना गरिने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुासर अभियानको समापन मंसिर ६ गते काठमाडौंमा हुने बृहत् जनसभाबाट गरिनेछ।
साथै, यसअघि पोखरामा तोकिएको महाधिवेशन अब काठमाडौंमा गर्ने निर्णय गरिएको छ। महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुनेछ।
ज्ञवालीका अनुासर महाधिवेशनका लागि करिब २१०० प्रतिनिधि छनोट गरिनेछ। जसका लागि मंसिर १३ गते देशभर एकैसाथ निर्वाचन हुनेछ।
बैठकले संघीय निर्वाचन क्षेत्र, पार्टी सदस्य संख्या, दलित, मजदुर, महिला तथा युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित हुने गरी प्रतिनिधि छनोटको मापदण्ड टुंगो लगाएको छ।
बैठकले विभिन्न समसामयिक विषयमा प्रस्तावसमेत पारित गरेको छ। पार्टीले हालै निधन भएका केन्द्रीय सदस्य तथा ट्रेड युनियन नेता कमल गौतमप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
साथै, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेको घरमा भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न र विद्युत् कटौतीबाट मारमा परेका उद्योगी तथा मजदुर एवं न्यूनतम पारिश्रमिकको माग गरिरहेका नर्सहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ।
