काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्वाचन सम्पन्न गराउनु नै सरकारको प्रमुख दायित्व भएको बताएकी छन्। आफैँले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको सोमबारको बैठकमा प्रधानमन्त्री कार्कीले फागुनमा चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले निर्धारित समयमा नै निर्वाचन हुने बताएकी हुन्।
सरकारको कार्यकाल ६ महिना रहेको, संसद्को दुई अधिवेशन बीचको समय र संसद् विघटन भएको ६ महिनाभित्र नयाँ संसद् ल्याउनुपर्ने संवेधानिक बाध्यता रहेको उनको भनाइ छ।
‘६ महिनाको निर्वाचनको कुरा उठ्यो। त्यो समय पनि संविधान सम्मत भएको हुनाले हामीले अन्यथा भन्ने कुरा भएन। सरकाको समय वा संसद्को दुई अधिवेशनको बीचमा ६ महिनाभन्दा बढी सयम हुनुहुन्न भन्ने संविधानको बाध्यकारी व्यवस्था हाम्रासामू छ,‘ उनले भनिन्।
भदौ २३ र २४ को घटना सोचभन्दा बाहिरको कुरा भएको प्रधानमन्त्रीको भनाइ छ। ‘भदौ २३ र २४ सोच, समझभन्दा बाहिरको कहालिलाग्दो घटना भयो । त्यसपछि एक परिवर्तन आएको छ । सिंगो राष्ट्रले परिवर्तनको आवश्यकता छ भन्ने कुरा महसुस गर्यो । अहिलेको चुनौती भनेको युवा वर्गलाई कसरी ‘फ्रन्ट रो’मा ल्याउने उनीहरूलाई मुलुकको सत्ता, शासनमा अगाडि बढाउने भन्ने धारणा सबैमा आएको छ । सबैमा भावना आयो कि अब परिवर्तन ल्याउनुपर्ने रहेछ,’ उनले भनिन् ।
कुनै पनि राजनीतिक दल चुनावको विरुद्धमा नरहेको प्रधानमन्त्रीको भनाइ थियो। निर्वाचनमा कुनै पनि सुरक्षा चुनौती नरहेको पनि उनको भनाइ छ। सबै राजनीतिक दलहरू चुनावमा आउन उनको आग्रह थियो । सबै राजनीतिक दलहरू चुनावमा आएमा शान्ति सुरक्षाको चुनौती नहुने पनि उनले बताइन्।
यस्तै प्रधानमन्त्री कार्कीले यो सरकार जेनजीको रगतमा यशोआराम गर्ने मनसायले नआएको समेत बताएकी छन्।
उनले जेनजीको रगतमा यशो आराम गर्न नआएको र नगरेको भन्दै त्यस्तो भन्नेहरुले हिजोको दलहरु र आजको सरकारले गरेको कामको मूल्यांकन गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘यहाँ कसले कस्लाई के दोष लगाउने, हामी अचानो त होइन नि हिजो के त्रुटि भए, जेको परिणाम २३ र २४ को घटना भयो त्यो आवेगलाई हामीले भोगि रहेका छौं। आज हामी आलोचनाको पाटो जेनजी र राजनीतिक पार्टी दुवैबाट भएका छौं। त्यसैले हामी अचानो त होईनौं। तर, जुन किसिमको आक्षेप हामी खेपि रहेका छौं, त्यसको लागि त तयार छौं। किनभने त्यो मुलुकको लागि हो। यो देशमा जन्मेर यति वर्ष नुन खाएपछि देशको लागि केही गर्नुपर्छ भन्ने हाम्रो विचारमा छ। हामी जेनजीको रगतमा यशो आराम गर्न आएको होइन। हामीले गरेको पछि छैन। हिजोको दलहरुले जसरी रमाइलो गरेका थिए भने आज हामीले के गरिरहेका छौ त्यो मूल्यांकन गर्नु।’
यस्तै, उनले सबैभन्दा महान भनेको जनता र जनताको सेवा राजनीतिक दलहरुले गर्नुपर्ने भन्दै जनताको अहिलेको माग के हो त्यो बुझ्न जरुरी रहेको बताइन्।
उनले भनिन्, ‘यहाँ हामी न कोही बादी छौं न प्रतिवादी छौं। आफ्नो चित्त नबुझेको कुरा राख्नु आफ्नो कुरा हो, कुन दललाई के कुरामा चित्त बुझेको हुँदैन। तर, अखिरमा यो देशको सबैथोक भनेको जनता हो। कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन वा केही भयो भने त्यसको नकारात्मक असर जनतालाई दिनु हुँदैन। किनभने सबैभन्दा महान भनेको जनता हो, राजनीतिक दल भनेको दोस्रो कुरा हो। पहिलो कुरा भनेको जनताको सेवा गर्न बसेको हो, जनताको अहिलेको माग के हो त्यो बुझ्नुपर्छ।’अहिलेको एउटा चुनौती भनेको युवा वर्गलाई सबैभन्दा अगाडि कसरी ल्याउने र कसरी मुलुकको सत्ता शासन अघि बढाउने भन्ने नै रहेको पनि उनको भनाई छ।
