संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘मध्यपूर्वमा कुनै पनि सैन्य वृद्धि’ को निन्दा गरेको उनका उप प्रवक्ता फरहान हकले इरानविरुद्ध इजरायलले गरेको आक्रमणबारे वक्तव्यमा बताएका छन् ।
“संयुक्त राष्ट्रसङ्घका प्रमुख इरानको आणविक कार्यक्रमको स्थितिबारे इरान र अमेरिकाबीच वार्ता भइरहेको बेला इरानमा आणविक प्रतिष्ठानहरूमा इजरायली आक्रमणहरूबाट विशेष गरी चिन्तित हुनुहुन्छ”,, विज्ञप्तिमा भनिएको छ ।
संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानूनअनुसार काम गर्न बाध्य छन् भनी उल्लेख गर्दै महासचिवले दुवै पक्षलाई अधिकतम संयम देखाउन र कुनै पनि मूल्यमा गहिरो द्वन्द्वमा पर्नबाट जोगिन आग्रह गरेका छन् ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमाथि ‘पूर्वनियोजित आक्रमण’ गरेको बताए । इजरायली रक्षा बलले यसका जेटहरूले पहिलो चरणको आक्रमण पूरा गरेको र विशेष गरी इरानका विभिन्न क्षेत्रहरूमा आणविक लक्ष्यहरू सहित दर्जनौँ सैन्य लक्ष्यहरूमा आक्रमण गरेको एक वक्तव्यमा पुष्टि गरेको छ ।
इरानको आइआरआइबी राज्य टेलिभिजनले राजधानी तेहरान र नातान्ज, खोन्डाब र खोर्रामाबाद काउन्टीहरूमा विस्फोट भएको जनाएको छ । तेहरानको आवासीय भवनमा महिला र बालबालिका सहित धेरै हताहत भएको सरकारी टेलिभिजनले जनाएको छ ।