काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले नैतिकताको आधारमा गृहमन्त्रीको राजीनमा माग्नु जायज नरहेको बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अरुलाई नैतिकताको पाठ सिकाउनेहरु पहिला आफू स्वच्छ हुन जरुरी रहेको बताएका हुन् । रास्वपाले पाँच–पाँच वटा मुद्दा लागेको रवि लामिछानेलाई सभापति बनाइराखेको, संसदीय दलको नेतामा पनि निलम्बनमा परेका लामिछानेलाई नै निरन्तरता दिएको उनले बताए । अरुलाई नैतिकता सिकाउले आफूमाथि उठेको प्रश्नको पनि ख्याल गर्न उनले आग्रह गरे ।
‘अख्तियारले छानविन सुरु गरेको भन्ने विषयलाई लिएर नैतिकताको आधारमा गृहमन्त्रीको राजीनामा र छानविन समितिको माग गर्दै संसद अवरुद्धको साथै होहल्ला गर्दै आएको छ । एउटा कर्मचारीमाथि अख्तियारले छानविन प्रारम्भ गरेको भन्ने आधारमा नैतिकताको आधारमा राजीनमा माग्ने साथीहरुले ५/५ वटा अदालतमा सहकारी ठगी, सम्पत्ति सुद्धीकरण, संगठित अपराधको मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराइराख्न कुनै नैतिकताले दियो ? अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापति पदमा रवि लामिछाने, जो जेलमा हुनुहुन्छ, ५/५ वटा मुद्दा उहाँमाथि छ । उहाँ नै अहिले पनि सभापतिको पदमा हुनुहुन्छ । त्यो पार्टीले अहिले कसैलाई नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन ? मेरो यो प्रश्न छ । अरुसँग नैतिकता खोज्ने साथीहरुले आफैं भित्र नैतिकता खोजेर उदाहरण प्रस्तुत गर्न म आग्रह गर्दछु,’– उनले भने ।
उनले रास्वपाको संसदीय दलको नेतासमेत परिवर्तन नभएको बताए । संसद् सचिवालयमा अहिले पनि रास्वपाको संसदीय दलको नेता संसद् सदस्यबाट निलम्बित भइसकेका रवि लामिछाने नै रहेको उनले बताए । ‘जो संसद् सदस्यबाट पनि निलम्बित भइसक्नुभएको छ, त्यही व्यक्तिलाई संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरुलाई नैतिकताको पाठ सिकाउन कति मिल्ने हो, कति जायज हो ?’ प्रश्न गर्दै उनले भने ।