व्यवहारिक र प्रविधिमैत्री शिक्षण प्रणाली जरुरी छ : मुख्यमन्त्री कँडेल

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले व्यवहारिक, प्रविधिमैत्री र नवीन शिक्षण प्रणाली अवलम्बन गर्न जरुरी भएको बताएका छन्।

शिक्षालाई जीवन उपयोगी बनाउने गरी पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली परिमार्जन गर्नुपर्ने आवश्यकता उनले औँल्याए। वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ स्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवम् शैक्षिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले समय अनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको बताए।

वर्तमान शिक्षा प्रणाली परम्परागत भएको भन्दै विद्यार्थीले केवल किताब पढ्ने र परीक्षा पास गर्ने लक्ष्य राखेर शैक्षिक गुणस्तर बढाउन नसकिने उनले बताए। मुख्यमन्त्री कँडेलले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको सुधारसँगै गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिए।

“शिक्षामा रूपान्तरण ल्याउन नीतिगत सुधार, स्रोत व्यवस्थापन र सक्षम शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ,” उनले भने।

नवनिर्मित विद्यालय भवनले सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकारको तर्फबाट कर्णालीका विद्यालयहरूमा आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए।

मुख्यमन्त्री कँडेलले कर्णाली जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा शिक्षाको माध्यमबाट दीर्घकालीन विकास सम्भव हुने उल्लेख गर्दै शिक्षक, अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। शिक्षा अब सामाजिक परिवर्तनको साधन हुनुपर्छ, त्यसका लागि हामी सबै एकजुट हुनु पर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे। उनले शैक्षिक भवन निर्माणसँगै सुर्खेत विमानस्थल विस्तारको कार्यमा सहजता हुने विश्वास व्यक्त गरे। शैक्षिक भवन कर्णाली प्रदेश सरकारको पाँच करोड ८९ लाख २४ हजार आठ सय ३४ रुपैयाँ ४६ पैसा लागतमा ३३ कोठाको भवन निर्माण हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *