कञ्चनपुर । जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा र बाँझो जग्गामा रोपिन्छन् । तर वन क्षेत्रको सघनता र विस्तारमा उल्लेख्य वृद्धि भने हुनसकेको छैन । डिभिजन वन कार्यालयका अनुसार गएको असारमा मात्र चार लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरिएको छ ।
त्यसभन्दा अघिल्ला वर्षहरूमा पनि नर्सरीमा बिरुवा उत्पादन गरी वितरण गर्ने कार्य गरिएको थियो । प्रत्येक वर्ष लाखौँ रूपैयाँ खर्च गरी बिरुवा उत्पादन गरी वितरण हुन्छन् तर संरक्षणको अभावमा बिरुवा हुर्कन नपाउँदै मर्ने गरेका छन् । वनजङ्गलमा डढेलो, खुला चरिचरन र मानवीय लापरवाहीका कारण बिरुवा हुर्कन नपाउँदै मर्ने गरेको वन संरक्षणकर्मीको भनाइ छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास कुँवर वृक्षरोपणपछिको व्यवस्थापन पक्ष कमजोर भएकाले उद्देश्य पूरा हुन नसकेको बताए । ‘बिरुवा रोप्ने त हो, तर त्यसपछि कसैले हेर्दैन’, उनले भने, ‘न सिँचाइ, न जाली घेराबारा, न त निगरानी नै हुन्छ, कुँवरका अनुसार नेपालमा अझै ‘छिटो प्रतिफल दिने बिरुवा’ रोप्ने प्रवृत्ति छ, जुन दीर्घकालीन वन विकास दृष्टिकोणबाट कमजोर मानिन्छ ।
‘तीन–पाँच महिनाका साना बिरुवा रोपिन्छन्, भारत र चीनले दुईतीन वर्ष उमेरका बिरुवा रोप्छन्, त्यसैले उनीहरूको सफलताको दर ९० प्रतिशत हुन्छ, उनले भने । ‘वनलाई अतिक्रमण र हस्तक्षेपबाट जोगाउने हो भने वृक्षरोपण नगरे पनि प्राकृतिक रूपमै हुने पुनः उत्पादनले वन विकास हुन्छ’, उनले भने, ‘खाली चौर तथा बगरमा वृक्षरोपण गर्दा राम्रै हुन्छ ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले पनि वृक्षरोपणबारे प्राविधिक ज्ञानको अभाव देखे । बिरुवा रोप्दा माटोको प्रकृति, प्रजातिको अनुकूलता, सिजन आदि विचार गरिँदैन, वाग्लेले भने, यसबाहेक रोपेपछि संरक्षण, सिँचाइ र मलजल नगर्ने हो भने पनि वृक्षरोपण अभियानले सार्थकता पाउँदैन ।
बिरुवा रोप्नेबारे प्राविधिक ज्ञान नहुँदा वृक्षरोपण अभियान आशातित रूपमा सफल हुन नसक्नुको मुख्य कारण भएको उहाँ बताए । वृक्षरोपण गर्ने भनेर जथाभावी रूपमा बिरुवा रोपिन्छन्, बिरुवा रोप्ने तरिका थाहा हुँदैन, उनले भने, माटोको अवस्था विश्लेषण गरेर त्यसअनुसारका प्रजातिको बिरुवामात्र रोप्नुपर्छ । बिरुवा रोपिसकेपछि संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ । बिरुवालाई संरक्षणसँगै समयसमयमा सिँचाइ पनि गर्नुपर्छ, उनले भने, त्यसो गर्न सकिएमा मात्र वृक्षरोपणको कार्यले सफता पाउँछ ।
सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी वृक्षरोपणको कार्य प्रत्येक वर्ष हुँदै आए पनि विभिन्न कारण रोपेका सबै बिरुवा नबाँच्ने गरेको बताए । रोपेका सबै बिरुवा त बाँच्दैनन्, उनले भने, ५०–६० प्रतिशत बिरुवा हुर्कियो भने पनि उपलब्धि नै हुन्छ । सामुदायिक वन समन्वय समितिले निजी जग्गा र बजर क्षेत्रमा वृक्षरोपणलाई जोड दिइरहेको उनको भनाइ छ ।
वृक्षरोपणसँगै वन क्षेत्रमा चरिचरन, आगलागी र अतिक्रमण रोक्न सकेमा बिरुवा पुनः उत्पादन प्रभावकारी हुने उनले बताए । विजय सालका बिरुवा पुनः उत्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले यस कार्यमा सफल भएको बताए ।
