विद्युत प्राधिकरणले निजी क्षेत्रसँगको साझेदारीमा ४ ठूला प्रसारण लाइन निर्माण गर्ने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा ४ वटा ठुला विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ।

प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि आईतबार सुचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) मागेको छ।

प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला-दूधकोशी-ढल्केबर ४०० केभी, ९४ किलोमीटरको अरुण हब (शीतलपाटी)-इनरुवा ४०० केभी, ८० किलोमीटरको न्यू खिम्ती-ढल्केबर ४०० केभी र ३० किलोमीटरको लप्सीफेदी-तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको हो।

आशयपत्र पेश गर्ने फर्म तथा कम्पनीको आयोजना सञ्चालन गर्न आवश्यक वार्षिक आम्दानी (एनुअल रिक्वायर्ड रेभिन्यु-एआरआर) का आधारमा प्राधिकरणले प्रतिस्पर्धाबाट फर्म-कम्पनी छनोट गने बताएको छ।

आशयपत्र पेश गर्ने फर्म-कम्पनीले बोलपत्रमार्फत बोलकबोल गरेको राजस्वको आम्दानी रकम र अन्य प्राविधिक क्षमताका आधारमा प्रतिस्पर्धामार्फत निर्माणकर्ता फर्म-कम्पनी छनोट हुनेछ भने छानिने फर्म-कम्पनीले प्रसारण लाइनको निर्माण-स्वामित्व ग्रहण-सञ्चालन र हस्तान्तरण बुट मोडलमा विकास गर्नुपर्नेछ।

प्राधिकरणले तिङ्ला-दूधकोशी-ढल्केबर लाइनको लागत करिब १४ करोड २० लाख अमेरिकी डलर (करीब १९ अर्ब ६१ करोड ५८ लाख), अरुण हब (शीतलपाटी)-इनरुवा तथा न्यू खिम्ती ढल्केबरको ८ करोड लाख अमेरिकी डलर (करीब ११ अर्ब ५ करोड) र लप्सीफेदी-३ पिप्लेको १ करोड ८० लाख अमेरिकी डलर (रु १ अर्ब ४८ करोड रुपैयाँ) लागत अनुमान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *