सुर्खेत । विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य ऊर्जा) वितरण सुरु गरिएको छ ।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको छ वटा वडाहरूमा रु. ६६ लाख आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ ।
त्यस्तै काइके गाउँपालिकाको दलित बस्ती रहेको वनढाडामा रु. २० लाखको ७५ घरधुरीलाई सोलार वितरणको काम समेत भइरहेको प्रमुख गिरीले बताए । डोल्पो बुद्ध गाउँपालिका–६ मा रु. २५ लाख लागतमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ । उपल्लो डोल्पाकै शे फोक्सुण्डो गाउँपालिका–१ मा रु. २० लाखमा ४५ घरधुरीलाई सोलार वितरणको काम भएको उनले जानकारी दिए ।
ठूलीभेरी नगरपालिका–११ स्थित गाउँमा स्थानीयवासी र कार्यालयको साझेदारीमा रु. ३० लाखमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ । विद्युत्को पहुँच नपुगेका कर्णालीका जिल्लाहरूमा विद्युतको पहुँच विस्तार गर्ने कार्यक्रमअन्तर्गत सोलार वितरण गरिएको छ ।