काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ का २६ वर्षीय अक्षय श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका–१० का २४ वर्षीय सुशान चुडाल, सुर्खेत सिम्ता गाउँपालिका–१ का ३० वर्षीय प्रदीप हमाल र दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ३६ वर्षीया मञ्जु दाहाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, अक्षयले युके पठाइदिने २७ लाख २९ हजार, सुशानले बोस्निया र हर्जगोभिना पठाइदिने भन्दै ३६ लाख ६३ हजार, प्रदीपले अजरबैजान पठाइदिने भन्दै छ लाख २० हजार र मञ्जुले अमेरिका पठाइदिने एक लाख ४० हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।
पक्राउमध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छभने सुशान, प्रदीप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
