काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले बजेटमा सधैं प्रभावशालीहरुको पहुँच रहेको कुराको अन्त्य गर्दै दूरदराजसम्म विकास पुर्याउनेगरि बजेट बनाउनुपर्नेमा जोड दिएका छन् । उनले विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माण गर्न सुझाव दिएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साउदले विगत वर्षझैं यसपटक बजेटमा प्रभाव जमाउन नदिन अर्थमन्त्रीलाई सुझाव दिए । उनले भने,‘हरेक वर्ष बजेट आउने गरेको छ । यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा आएका छौँ । बजेटको सिद्धान्त र प्राथमिकता सरकारले नै निर्धारण गरेको होला । नीति तथा कार्यक्रममा छलफल भएको छ, ।ड
उनले नेपालमा असन्तुलित विकास र प्रभावशालीहरुले बजेटमा हालीमुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको स्मरण गराउँदै यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजविहीनहरूको हितको अन्तरविरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ ?’