काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु मेघ आले र दिनकर नेपालमाथि रड प्रहार गरेका छन् । हिजो (मंगलबार) आँधिखोला उत्खननको विषयलाई लिएर वडाअध्यक्ष खनालले रास्वपाका नेताद्वयमाथि प्रहार गरेको बताइएको छ ।
‘वडा नं. १० का वडाअध्यक्ष सुनिल खनालले मलाई र मेघ आलेलाई बाइक रोकेर, हामी भर्खरै विरोध कार्यक्रममा थियौं । विरोध कार्यक्रमबाट आउँदै गर्दा बाइकमा रोकेर हामीमाथि फलामको रडले टाउकोमा हान्यो । सुनिल खनाल र अर्को एक जना मान्छे थियो । मैले हेलमेट लगाएको कारण मेरो ज्यान जोगियो । आँधिखोला दोहनको विरुद्धमा बोल्दैगर्दा हामीलाई थुप्रै मान्छेको अगाडि धम्क्याएर उनीहरु निस्किएका थिए । बाटोमा रोकेर हामीमाथि आक्रमण भयो,’– उनले भने ।
आले रास्वपाको केन्द्रीय सदस्य र नेपाल स्थानीय नेता हुन्। वडाअध्यक्ष खनाल नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।