लुम्बिनी । अखिल नेपाल किसान महासङ्घ, लुम्बिनी प्रदेश समितिले मुलुकको कृषि क्षेत्र सङ्कटोन्मुख भइरहेका बेला किसानका प्रमुख समस्यालाई उठाउन गर्दै लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
महासङ्घले कृषिमा बजेटको न्यून विनियोजन, नीतिगत असंवेदनशीलता र सहुलियतको अभावले गर्दा उत्पादन, रोजगारी, खाद्य सुरक्षा र आर्थिक वृद्धिमा व्यापक असर परिरहेकोलगायतका संवेदनशील विषय उठान गर्दै प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री दिनेश पन्थीलाई आज बुटवलमा ज्ञापनपत्र बुझाएको हो ।
मन्त्रालयले वार्षिक प्रगति समीक्षा जारी रहेको कार्यक्रम हल बाहिर जुटेका किसानका अगुवाहरुले आफुहरुले भोगिरहेका समस्याको समाधानका लागि पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
लुम्बिनी प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री दिनेश पन्थीलाई बुझाइएको ज्ञापनपत्रमा महासङ्घले कृषि क्षेत्रमा देखिएका मूल समस्या, नीति कार्यान्वयनको कमजोरी र समाधानका सम्भावनाहरूमा केन्द्रित रहेर देखिनेगरी काम गर्न आग्रह गरेको छ ।
टोलीमा महासङ्घका केन्द्रीय सदस्य सिपी पौडेल, जिल्ला अध्यक्ष कृष्ण खरेल, अगुवा किसान पुष्करनाथ पन्थलगायतको सहभागिता रहेको थियो । उहाँहरुले किसानहरु मल नपाएको, पशुपालकहरु पशुमा अनेक रोगको सङ्क्रमण भएर समस्यामा परिरहेको गुनासो गर्दै प्रदेश सरकारले अनुभूति हुनेगरी काम गर्न आग्रह गरेका हुन् ।
सधैँ मलको अभाव, उत्पादकत्व वृद्धिका कार्यक्रम नहुनु, कृषिको असमान वितरण, सिँचाइको अभाव, परम्परागत प्रणालीको निर्भरता, श्रमप्रधान र घाटामा जहिल्यै मलको अभाव, उत्पादकत्व वृद्धिका कार्यक्रम नहुनु, कृषिको असमान वितरण, सिँचाइको अभाव, परम्परागत प्रणालीको निर्भरता, श्रमप्रधान र घाटामा जाने कृषि प्रणाली तथा उत्पादन लागतको वृद्धिलगायतका समस्याबाट किसान चिन्तित रहेको उहाँहरुको भनाइ रहेको छ ।
